इरान–अमेरिका तनाव चर्किँदै, खाडी देशहरूलाई भूमिका खेल्न इरानको आह्वान
काठमाडौं, असार २६ — पश्चिम एसियामा इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीच तनाव तीव्र बनेसँगै इरानले खाडी देशहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। इरानी विदेश मन्त्रालयले क्षेत्रीय देशहरूले कानुनी र नैतिक जिम्मेवारी निर्वाह गर्दै अमेरिकी–इजरायली आक्रमण रोक्न सहयोग गर्नुपर्ने जनाएको छ।
मन्त्रालयले मध्यपूर्वका देशहरूले आफ्नो भूमि वा सैन्य सुविधा अमेरिका र इजरायललाई इरानविरुद्ध प्रयोग गर्न नदिनुपर्ने स्पष्ट गरेको छ। विशेष रूपमा खाडी क्षेत्रका दक्षिणी तटीय देशहरूलाई उल्लेख गर्दै, त्यस्ता गतिविधि रोक्न कडाइ गर्नुपर्ने इरानको भनाइ छ।
यसैबीच इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले जोर्डनस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण गरेको दाबी गरेको छ। उक्त कारबाही अमेरिकाले जास्क, केश्म द्वीप, मीनाब, बन्दर अब्बास र सीरिक लगायतका क्षेत्रमा गरेको हवाई आक्रमणको जवाफ भएको इरानको भनाइ छ।
तर जोर्डनको सेनाले आफ्नो एयर डिफेन्स प्रणालीले इरानबाट प्रक्षेपित पाँचवटा मिसाइललाई आकाशमै नष्ट गरेको जनाएको छ। ती मिसाइल पूर्वी क्षेत्रतर्फ बढिरहेका बेला रोकिएको र कुनै मानवीय वा भौतिक क्षति नभएको दाबी गरिएको छ।
इरानी रिभोलुसनरी गार्डले जोर्डनस्थित एक एयरबेसमा लामो दूरीका मिसाइल आक्रमण गरी एफ–३५ लडाकु विमानका ह्याङ्गर र कमान्ड सेन्टरसहित चार प्रमुख संरचना ध्वस्त पारेको दाबी गरेको छ। साथै, मध्यपूर्वका अमेरिकी वायु तथा नौसेना संरचनाहरूलाई लक्षित गर्दै २१ स्थानमा हमला गरिएको पनि इरानको दाबी छ।
त्यसैगरी इरानले अमेरिकी एमक्यू–९ रीपर ड्रोन खसालेको पनि जनाएको छ। यद्यपि अमेरिकी सेनाले उक्त दाबीबारे कुनै आधिकारिक पुष्टि गरेको छैन।
तनाव बढेसँगै बहराइनमा एयर रेड साइरन बजाइएको छ। गृह मन्त्रालयले नागरिकहरूलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेको छ। इरानले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीटलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबीपछि यो अलर्ट जारी गरिएको बताइएको छ।
क्षेत्रीय स्तरमा बढ्दो सैन्य गतिविधि र प्रतिदाबीहरूले पश्चिम एसियामा थप अस्थिरताको जोखिम बढाएको देखिएको छ।