भारत फर्किंदै कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके
भारतमा चर्चित बनेको कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके आगामी जुन ६ मा स्वदेश फर्किने भएका छन्। हाल बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपकेको स्वदेश फिर्तीबारे पार्टीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
दिपकेको स्वदेश आगमनसँगै पार्टीले धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीमा विरोध प्रदर्शनको घोषणा गरेको छ। पछिल्लो समय भारतका विभिन्न महत्वपूर्ण परीक्षाका प्रश्नपत्र चुहिएको घटनापछि शिक्षामन्त्रीमाथि नैतिक जिम्मेवारी लिनुपर्ने दबाब बढ्दै गएको छ।
पार्टीले परीक्षा प्रणालीमा देखिएको गम्भीर कमजोरीका कारण एक करोडभन्दा बढी विद्यार्थी प्रभावित भएको दाबी गर्दै सरकार समस्याप्रति गैरजिम्मेवार बनेको आरोप लगाएको छ। परीक्षासम्बन्धी तनावका कारण केही विद्यार्थीले ज्यान गुमाउनुपरेको अवस्था आएको भए पनि सरकारले कुनै ठोस कदम नचालेको पार्टीको भनाइ छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीले दिल्लीस्थित जन्तर मन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको छ। आन्दोलनलाई प्रभावकारी बनाउन दिपकेले समर्थकहरूलाई आफू भारत फर्किने दिन विमानस्थलमा उपस्थित हुन र त्यहाँबाट एकजुट भएर प्रदर्शनको अनुमति माग्न पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेशन पुग्न आग्रह गरेका छन्।
कक्रोच जनता पार्टीले शिक्षा क्षेत्रको सुधार, परीक्षा प्रणालीमा पारदर्शिता र विद्यार्थीको भविष्य सुरक्षित गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलनको तयारी गरेको जनाएको छ।