हिरासतमा श्रीकृष्ण विश्वकर्माको मृत्यु प्रकरणमा कुटपिट नभएको प्रतिवेदन
सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको मृत्यु प्रकरणबारे छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको र उक्त प्रतिवेदनले प्रहरीले कुटपिट नगरेको निष्कर्ष निकालेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा सदस्य भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै प्रकारको शारीरिक वा मानसिक यातना नदिएको प्रतिवेदनमा उल्लेख रहेको जानकारी दिए। उनले नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि बैठकमा बताए।
गृहमन्त्रीका अनुसार प्राप्त प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको प्रमाण नदेखिएको निष्कर्ष निकालिएको हो। यद्यपि यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ तथ्य वा जानकारी आएमा पुनः जानकारी गराइने उनले बताए।
बैठकमा सांसद सुनारले जातीय विभेद, अन्तरजातीय विवाहसँग जोडिएका हिंसा तथा हिरासतभित्रको अवस्थाबारे प्रश्न उठाउँदै ध्यानाकर्षण गराएका थिए। उनले हिरासतको संरचना र अवस्थामाथि पनि प्रश्न उठाएका थिए।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि वाचन गरेर सुनाएका थिए।