रास्वपाको आज २८ जिल्लामा प्रथम जिल्ला अधिवेशन
काठमाडौं, जेठ २५ — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशका २८ जिल्लामा प्रथम जिल्ला अधिवेशन आयोजना गर्दैछ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार कोशी प्रदेशका चार, मधेशका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ तथा सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन लागेको हो।
आज उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिरहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन सम्पन्न हुनेछन्।
निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ। रास्वपाले शनिबार मात्रै ३८ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ।
आयोगका अनुसार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लामा शनिबार अधिवेशन सम्पन्न भएको थियो। त्यसैगरी स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि नयाँ नेतृत्व चयन भइसकेको छ।
रास्वपाले जिल्ला अधिवेशनलाई तदर्थ संरचनाबाट वैधानिक र जनअनुमोदित संगठन निर्माण गर्ने महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ। विशेष संगठनात्मक परिस्थितिका कारण बाराको जिल्ला अधिवेशन भने जेठ २६ गते आयोजना गरिनेछ।
पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ भने बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि हुनेछ। साथै, जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुने र त्यसका लागि पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएको रास्वपाले जनाएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ।