माइतीघर पुगेर प्रदर्शनकारीसँग भेटे गृहमन्त्री गुरुङ, माग सम्बोधन गर्ने प्रतिबद्धता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलमा विभिन्न माग राख्दै धर्ना तथा प्रदर्शनमा बसेकाहरूसँग भेटवार्ता गरेका छन्।
बिहीबार दिउँसो करिब पौने ४ बजे माइतीघर पुगेका मन्त्री गुरुङले प्रदर्शनकारीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका माग र गुनासो सुनेका हुन्।
भेटका क्रममा उनले विभिन्न मुद्दा बोकेर आन्दोलनरत नागरिकका मागलाई गम्भीरतापूर्वक लिइने र सम्बोधनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल माइतीघर मण्डलमा जबरजस्ती करणीका पीडितहरू न्यायको माग गर्दै प्रदर्शनमा छन्। साथै चुरे संरक्षण, सुशासन तथा अन्य सामाजिक सरोकारका विषय उठाउँदै विभिन्न समूहले पनि धर्ना र प्रदर्शन गरिरहेका छन्।
गृहमन्त्री गुरुङको यो भ्रमणलाई आन्दोलनरत पक्षका मागबारे सरकारको ध्यानाकर्षण गराउने प्रयासका रूपमा हेरिएको छ।