इन्डोनेसियाको माउन्ट लेवोटोबी विस्फोट, विमानस्थल बन्द
जाकार्ता, असार ५ — पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक विस्फोट हुँदा बाक्लो खरानी आकाशमा फैलिएको छ, जसका कारण स्थानीय विमानस्थलहरू बन्द गर्नुपरेको अधिकारीहरूले जनाएका छन्।
फ्लोरेस टापुमा अवस्थित उक्त ज्वालामुखी शुक्रबार बिहान ११:१५ बजे विस्फोट भएको थियो। राष्ट्रिय ज्वालामुखी विभागका अनुसार विस्फोटपछि करिब २.५ किलोमिटर वरपरको हावामा धुलो र खरानी फैलिएको छ।
लेवोटोबी लाकी–लाकीलाई इन्डोनेसियाको दोस्रो उच्च सतर्कता स्तरमा राखिएको छ भने ज्वालामुखीको क्रेटर वरिपरि पाँच किलोमिटर बहिष्करण क्षेत्र कायम गरिएको छ।
अधिकारीहरूले भारी वर्षा भएमा ज्वालामुखीजन्य सामग्री मिसिएर खतरनाक बाढी आउन सक्ने चेतावनी दिँदै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
विस्फोटका कारण मौमेरे सहरस्थित स्थानीय विमानस्थलमा उडान सञ्चालन स्थगित गरिएको छ। विमानस्थल प्रमुख पार्थाहियान पञ्जाइतनलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार पाँच वटा आन्तरिक उडान प्रभावित भएका छन्।
यसअघि गत जुलाईमा पनि लेवोटोबी लाकी–लाकी विस्फोट हुँदा बालीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा उडान रद्द भएका थिए।
इन्डोनेसिया प्रशान्त “रिङ अफ फायर” क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधि हुने गर्दछ।