आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना भएको खुस्बु ओलीको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओली ले आयातित सवारीसाधनमा सिट संख्या हेरफेर गरेर ठूलो परिमाणमा राजश्व हिनामिना गरिएको आरोप लगाएकी छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ७/८ सिट क्षमताका सवारीलाई ११ सिटको कायम गरी ३० प्रतिशत लाग्ने भन्सार शुल्कको सट्टा १० प्रतिशत मात्र लिइएको दाबी गरिन्। यसरी प्रति सवारी २० प्रतिशत भन्सार राजश्व गुमाइएको उनको भनाइ छ।
उनका अनुसार ११ देखि १४ सिट क्षमताका सवारीमा पनि अमान्य सिटलाई मान्यता दिई १५ देखि १८ सिट कायम गरेर १० प्रतिशतको सट्टा १ प्रतिशत मात्र भन्सार लिइएको छ, जसबाट थप ९ प्रतिशत राजश्व हिनामिना भएको देखिएको छ।
ओलीले यस्ता करिब ५ हजारभन्दा बढी सवारी आयात भई दर्ता भइसकेको र थप दर्ता हुने क्रम जारी रहेको बताइन्। सवारीको वास्तविक मापदण्डविपरीत अतिरिक्त सिट राखेर कर छुट दिने कार्य गम्भीर विषय भएकाले छानबिन गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
उनले २०८० सालयता यस्ता गतिविधिबाट ५ अर्ब रुपैयाँभन्दा बढी राजश्व गुमेको दाबी गर्दै सम्बन्धित निकाय मौन बसेको आरोप समेत लगाइन्। बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका अधिकारी तथा भन्सार विभागका कर्मचारीहरू उपस्थित थिए।