‘जान्नेलाई छान्ने’ नारा पाखण्डको संस्थागत रूप हो : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक दलहरूले अघि सारेको ‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप भएको आरोप लगाएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले नयाँ भनिएका शक्तिहरूको वास्तविक चरित्र क्रमशः उजागर हुँदै गएको दाबी गरेका हुन्। उनले देशविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने र राज्यविरुद्धका विध्वंसात्मक कार्यलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढिरहेको टिप्पणी गरेका छन्।
पोखरेलले स्वार्थमा आधारित ‘सेटिङ’लाई विधिको रूपमा स्थापित गर्ने, अर्थविधेयकजस्ता संवेदनशील दस्तावेजमा गैरकानुनी छेडछाड गर्ने तथा अवैध धनको स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले आफ्ना पक्षधरलाई उन्मुक्ति दिने र विरोधीलाई जसरी पनि दोषी देखाउने प्रवृत्ति बढेको उल्लेख गर्दै त्यसलाई योग्यता नभई पाखण्डको संज्ञा दिएका छन्।
एमाले महासचिव पोखरेलले यस्ता गतिविधिले सुशासन र तीव्र विकासको लक्ष्यलाई कमजोर बनाएको दाबी गर्दै यसलाई स्वेच्छाचारिता र पक्षपातको पराकाष्ठा भनेका छन्।
देशमा सुशासन र विकासका लागि विगतका कमजोरी सच्याउन आवश्यक रहेको स्वीकार गर्दै उनले नयाँपनको नाममा हुने गलत कार्यलाई भने स्वीकार गर्न नसकिने बताएका छन्। हालै देखिएका बजेट विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमको सन्दर्भमा आएको उनको टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।