औषधिको दुरुपयोग रोक्न विभाग कडा, प्रेगाबालिनसहित तीन औषधिमा निगरानी बढाइयो
काठमाडौं । औषधि व्यवस्था विभागले प्रेगाबालिन, डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग नियन्त्रण गर्न आयात, बिक्री–वितरण तथा बजार व्यवस्थापनसम्बन्धी थप व्यवस्था लागू गरेको छ।
विभागले बुधबार सूचना जारी गर्दै पछिल्लो समय यी औषधिहरूको दुरुपयोग बढ्दै गएको गुनासो र सूचनाका आधारमा निगरानी कडा बनाइएको जनाएको हो।
नयाँ व्यवस्थाअनुसार प्रेगाबालिन औषधिको आयात तथा खपत परिमाण बढाउन चाहने आयातकर्ताले खुद्रा औषधि पसलसम्मको बजार आवश्यकताको विवरण विभागमा पेश गर्नुपर्नेछ। साथै प्रत्येक ६ महिनामा खुद्रा तहसम्मको खपत विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, खुद्रा औषधि पसलहरूले प्रेगाबालिन बिक्री गर्दा बिरामीको विवरण, औषधि सिफारिस गर्ने चिकित्सकको नाम तथा नेपाल मेडिकल काउन्सिल नम्बर अभिलेख राख्नुपर्नेछ। उक्त विवरण सफ्ट वा हार्ड कपी दुवै माध्यमबाट सुरक्षित राख्न सकिने विभागले जनाएको छ।
डाइसाइक्लोमिन र प्रोमेथाजिन औषधिका उत्पादक तथा आयातकर्तालाई पनि वितरण तहसम्मको अभिलेख व्यवस्थित राख्न निर्देशन दिइएको छ। डिस्ट्रिब्युटरहरूले खुद्रा तहसम्मको बिक्री–वितरण रेकर्ड राख्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागका अनुसार नयाँ व्यवस्थाले औषधिको अनधिकृत प्रयोग तथा दुरुपयोग नियन्त्रण गर्न मद्दत पुग्नुका साथै बजारमा आवश्यक मात्रामा औषधिको उपलब्धता सुनिश्चित हुने अपेक्षा गरिएको छ।
प्रेगाबालिन मुख्यतः स्नायुजन्य पीडा, मिर्गी तथा चिन्ताजन्य समस्याको उपचारमा प्रयोग गरिन्छ भने डाइसाइक्लोमिन पेट दुख्ने तथा आन्द्रा सम्बन्धी समस्यामा प्रयोग हुने औषधि हो। प्रोमेथाजिन भने एलर्जी, वान्ता तथा यात्रा गर्दा हुने वाकवाकी नियन्त्रणका लागि प्रयोग गरिन्छ।