फिफा विश्वकपको अनधिकृत स्ट्रिमिङमा रोक, ३५ वेबसाइट र एप बन्द
काठमाडौं । सरकारले फिफा विश्वकप २०२६ को अनधिकृत प्रसारण रोक्न ३५ वटा वेबसाइट र मोबाइल एपमा प्रतिबन्ध लगाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार सूचना जारी गर्दै नेपालमा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने अनुमति नलिएका वेबसाइट तथा एपमार्फत हुने स्ट्रिमिङ बन्द गरिएको जनाएको हो।
प्राधिकरणका अनुसार नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम प्रालिअन्तर्गतको डिजिओसँगको संयुक्त साझेदारीमा सञ्चालित एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेको छ।
आधिकारिक प्रसारण अधिकार प्राप्त संस्थाको बौद्धिक सम्पत्ति तथा प्रसारण अधिकारको संरक्षणका लागि अनधिकृत रूपमा विश्वकप प्रसारण गरिरहेका ३५ वेबसाइट र मोबाइल एपको पहुँच नेपालभित्रबाट रोकिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले अनुमति नलिई खेलकुद प्रतियोगिता प्रसारण गर्ने गतिविधि कानुनविपरीत हुने उल्लेख गर्दै यस्ता कार्यमा संलग्न नहुन सम्बन्धित पक्षलाई सचेत गराएको छ।
फिफा विश्वकप २०२६ सुरु भएसँगै दर्शकको चासो उच्च रहेको अवस्थामा अनधिकृत स्ट्रिमिङ नियन्त्रण गरी आधिकारिक माध्यमबाट मात्रै प्रतियोगिता हेर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।