विपक्षी दलहरूको बैठक आज, प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुने
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक आह्वान गरेका हुन्।
बैठकमा प्रधानमन्त्री शाहले संसदमा ‘नेपालले पनि भारततर्फ जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि देखिएको विवाद र त्यसले सिर्जना गरेको राजनीतिक असरबारे छलफल हुने जनाइएको छ।
बैठकमा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा लगायतका विपक्षी दलका नेताहरूलाई समेत आमन्त्रण गरिएको छ।
यसैबीच दिउँसो १ बजे प्रतिनिधिसभा र १:१५ बजे राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम रहेको छ। त्यसअघि नै विपक्षी दलहरू साझा धारणा बनाउन छलफलमा जुट्न लागेका हुन्।