दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण: १० जनाको मृत्यु, २७ घाइते
बेरुत — दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्, लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नबातीह जिल्लाको अरबसालिम सहरमा भएको आक्रमणमा तीन बालबालिका र दुई महिलासहित ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
त्यस्तै हारुफ सहरमा भएको अर्को आक्रमणमा एक बालकको मृत्यु र पाँच जना घाइते भएका छन्। रौमाइन सहरमा भएको आक्रमणमा दुई बालकसहित ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
यसैबीच जिब्किन सहरमा भएको आक्रमणमा चार महिलासहित ९ जना घाइते भएको जनाइएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत मार्च २ देखि जारी इजरायली आक्रमणका कारण हालसम्म २,८९६ जनाको मृत्यु भएको छ भने ८,८२४ जना घाइते भएका छन्।
इजरायली सेनाले गत अप्रिलमा सुरु भएको युद्धविरामको उल्लङ्घन गर्दै दक्षिणी लेबनानमा आक्रमण जारी राखेको आरोप लाग्दै आएको छ।