इरानसँग युद्धविरामका लागि अमेरिकाको नयाँ प्रस्ताव, १४ बुँदे योजना पठाइयो
संयुक्त राज्य अमेरिका — इरान सँग युद्धविराम तथा परमाणु सम्झौताका लागि अमेरिकाले नयाँ १४ बुँदे प्रस्ताव पठाएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार वासिङ्टनले यो हप्ता तेहरानलाई उक्त प्रस्ताव पठाएको हो।
प्रस्तावअनुसार इरानले परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेछ। त्यसका लागि इरानले कम्तीमा १२ वर्षसम्म युरेनियम सम्वर्द्धन रोक्नुपर्ने सर्त राखिएको छ।
अमेरिकाले इरानसँग हाल रहेको करिब ४४० किलोग्राम ६० प्रतिशतसम्म सम्वर्द्धित युरेनियम पनि बुझाउन माग गरेको बताइएको छ।
यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक तथा व्यापारिक प्रतिबन्ध क्रमशः हटाउने, रोक्का गरिएको अर्बौं डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्ने तथा इरानी बन्दरगाहहरूमा लागू नौसैनिक नाकाबन्दी हटाउने प्रस्ताव गरेको छ।
प्रस्तावमा दुवै देशले सम्झौतामा हस्ताक्षर भएको ३० दिनभित्र होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ।
अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच आएको यो प्रस्तावलाई मध्यपूर्वको सुरक्षा र विश्व ऊर्जा बजारसँग जोडेर हेरिएको छ।