अमेरिका–इरानबीच फेरि सैन्य तनाव, दुवै पक्षले आक्रमणको दाबी
अमेरिका र इरानबीच एक महिनाअघि भएको युद्धविरामपछि फेरि सैन्य तनाव चुलिएको छ। बिहीबार दुवै देशले एकअर्कामाथि आक्रमण भएको पुष्टि गरेका छन्।
इरानले भने हाल अवस्था सामान्य भइसकेको जनाएको छ भने अमेरिकाले थप तनाव नचाहेको प्रतिक्रिया दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गर्दै इरानले सम्झौता नगरे थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। उनले अमेरिका अझै इरानसँग वार्तामा रहेको पनि बताएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार, नौसेनाका मिसाइल विनाशक जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै गल्फ अफ ओमानतर्फ जाँदै गर्दा इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि इरानभित्र हवाई आक्रमण गरिएको हो।
त्यस्तै, इरानले भने अमेरिका–इजरायल द्वन्द्वपछि जारी तनावका बीच अमेरिकाले युद्धविराम उल्लंघन गर्दै तेल ट्यांकर र जहाजहरूलाई लक्षित गरेको आरोप लगाएको छ। साथै, क़ेश्म टापु र बन्दर खामिर सिरिक आसपासका क्षेत्रमा हवाई आक्रमण भएको दाबी पनि गरेको छ।
इरानी सेनाले त्यसको जवाफमा स्ट्रेट अफ होर्मुजको पूर्वी भाग र चाबहार बन्दरगाह नजिक अमेरिकी सैन्य जहाजहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
तर अमेरिकी सेनाले भने सबै इरानी आक्रमण अवरुद्ध गरिएको र कुनै पनि अमेरिकी सैन्य सम्पत्तिमा क्षति नभएको स्पष्ट पारेको छ।