प्रतिनिधिसभामा जनजीवनका समस्या समाधान गर्न सरकारलाई सांसदहरूको आग्रह
काठमाडौँ — प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्न आग्रह गरेका छन्। उनीहरूले नागरिक अधिकारको संरक्षण सरकारको प्रमुख दायित्व भएको स्मरण गराएका थिए।
सांसदहरूले देशका विभिन्न जिल्लामा देखिएका पूर्वाधार, कृषि, स्वास्थ्य, सामाजिक न्याय तथा सुशासनसँग सम्बन्धित समस्या उठाएका छन्।
सांसद विश्वराज पोखरेलले ओखलढुङ्गामा प्रसारण लाइनबाट करेन्ट लागेर घाइते भएका व्यक्तिको उपचार व्यवस्था तत्काल मिलाउन र यस्ता दुर्घटना रोक्न संरचनागत सुधार गर्न माग गरे।
सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको जीर्ण सडक छिटो निर्माण गर्न आग्रह गरे भने सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्ज र हेटौँडामा सडक मापदण्डमा देखिएको असमानता समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
स्वास्थ्य र पूर्वाधारतर्फ सांसद भरतबहादुर स्वाँरले अछाम जिल्ला अस्पताललाई १०० शय्याको बनाउनुपर्ने माग राखे। सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गरी किसानलाई जग्गा उपलब्ध गराउन आग्रह गरे।
सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका अपूरा पुल निर्माण वर्षायामअघि सम्पन्न गर्न माग गरिन्। सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताइन्।
त्यसैगरी सांसद मञ्जु भुसालले बुटवलको आर्थिक गतिविधि कमजोर भएको उल्लेख गर्दै सुरक्षित बसोबास र व्यवस्थित शहरीकरण आवश्यक रहेको बताइन्।
सांसद मनिष खनालले सुकुमवासी समस्या समाधानका लागि छुट्टै प्राधिकरण गठन गर्नुपर्ने माग गरे भने सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन नागरिकका लागि आवास व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
कृषि र विपद् व्यवस्थापनतर्फ सांसद राजकिशोर महतोले नीलगाईका कारण किसानको बाली क्षति भइरहेको विषय उठाए भने सांसद रमेशकुमार सापकोटाले कर्णालीमा विद्युत् तथा पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति आपत्ति जनाए।
त्यस्तै सांसद रचना खतिवडा खत्रीले सहिद परिवार र घाइतेहरूको उचित राहतको माग गरिन् भने सांसद रञ्जु न्यौपानेले ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचना निर्माण गर्न आग्रह गरिन्।
सांसदहरूको सामूहिक धारणा अनुसार सरकारले विकास, सुशासन, सामाजिक सुरक्षा र पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको छ।