सरकारी कर्मचारीको तलब २१ प्रतिशत नै बढेको हो : अर्थमन्त्री वाग्ले
काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब वृद्धि २१ प्रतिशत नै भएको स्पष्ट पारेका छन्।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार अन्तरक्रियामा उनले तलब वृद्धिबारे उठेका अन्योल र टिप्पणीहरूको खण्डन गर्दै सरकारले घोषणा गरेअनुसार २१ प्रतिशत वृद्धि लागू भएको बताए।
उनले तलब वृद्धिको संरचना स्पष्ट पार्दै आधार तलबमा १० प्रतिशत वृद्धि र थप १० प्रतिशत कार्यसम्पादनसँग जोडिएको प्रोत्साहन व्यवस्थामार्फत कुल वृद्धि २१ प्रतिशत पुगेको बताए। हालका लागि उक्त सुविधा सबै कर्मचारीले पाउने भए पनि भविष्यमा सुधार कार्यक्रम लागू भएपछि कार्यसम्पादनका आधारमा समायोजन हुन सक्ने उनले उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले हाल दिइँदै आएको ५ हजार रुपैयाँ महँगी भत्ता भने यथावत् कायम रहने जानकारी पनि दिए।