फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
पोखरामा फेवातालमा पौडी खेल्ने क्रममा एक १० वर्षीय बालकको डुबेर मृत्यु भएको छ। पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा आज बिहान उक्त दुर्घटना भएको हो।
खपौदी बस्ने १० वर्षीय आरेस लामाको पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिएका छन्।
उनका अनुसार प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सात जनाको गोताखोरसहितको टोली घटनास्थलमा खटिएको थियो। खोजीका क्रममा बालकलाई करिब १८ फिट गहिराइबाट अचेत अवस्थामा फेला पारिएको थियो।
उद्धारपछि उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भए पनि चिकित्सकले दिउँसो करिब १२:१५ बजे मृत घोषणा गरेका हुन्।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।