अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु
पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए । दश जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको मृत्यु भएको पुष्टि गर्दै थप, २९ जना घाइते भएको प्रवक्ताले बताएका छन् ।
पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सडकमा ट्रक दुर्घटना भएको जानाइएको छ । पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागु गरेसँगै धेरै अफगानहरु आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्क अनुसार यस वर्षको सुरु देखि चार लाख ४७ हजार ४०० अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन् ।
यसअघि अगस्टमा, पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य दुई सवारी साधनहरू बिचको टक्करमा १९ बालबालिका सहित ७८ जनाको मृत्यु भएको थियो ।