होर्मुज स्ट्रेट नजिक अमेरिका–इरानबीच सैन्य झडप, तेल बजारमा ठूलो उछाल
होर्मुज स्ट्रेट नजिक फेरि अमेरिका र इरानबीच सैन्य तनाव चर्किएको छ। अमेरिकी सेनाले बिहीबार इरानी सैन्य अखडामाथि एयरस्ट्राइक गरेको जनाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकोम) का अनुसार, होर्मुज स्ट्रेट हुँदै गइरहेका अमेरिकी युद्धपोतहरूमाथि मिसाइल, ड्रोन र साना डुंगाबाट आक्रमण भएपछि उक्त कारबाही गरिएको हो। सेन्टकोमले सबै आक्रमण निष्क्रिय पारिएपछि इरानभित्र मिसाइल र ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर तथा निगरानी प्रणालीलाई निशाना बनाइएको जनाएको छ।
अमेरिकी सेनाले आफू तनाव बढाउन नचाहेको तर आफ्ना सैनिक र सैन्य सम्पत्तिको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।
यता, इरानी सेनाका प्रवक्ताले अमेरिकी एयरस्ट्राइकमा सर्वसाधारण बसोबास क्षेत्रलाई समेत निशाना बनाइएको आरोप लगाउँदै यसलाई युद्धविरामको उल्लंघन भएको बताएका छन्। होर्मुज क्षेत्र र केही बन्दरगाह आसपास विस्फोटका आवाज सुनिएको भए पनि क्षति र हताहतबारे दुवै पक्षले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
यस घटनासँगै विश्व तेल बजारमा ठूलो असर परेको छ। ब्रेन्ट क्रुडको मूल्य ७.५ प्रतिशतसम्म बढेर प्रति ब्यारेल १०३ डलर नाघेको थियो भने पछि केही घटेर १०१ डलर आसपासमा कायम रह्यो। अमेरिकी कच्चा तेल (WTI) पनि करिब २.५ प्रतिशतले बढेको छ।
विश्लेषकहरूका अनुसार, सम्भावित आपूर्ति अवरोधको डरले बजारमा तेलको मूल्य बढेको हो। यसले एसिया र अमेरिकाका प्रमुख शेयर बजारहरूमा पनि गिरावट ल्याएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भए पनि ती सुरक्षित रूपमा होर्मुज स्ट्रेट पार गर्न सफल भएको दाबी गरेका छन्। उनले इरानका मिसाइल र ड्रोन आक्रमणहरू नष्ट गरिएको पनि बताएका छन्।
तर इरानले भने ट्रम्पको दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।