सङ्गीत रोयल्टी विवाद अध्ययन गर्न पाँच सदस्यीय समिति गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद र प्रणालीगत समस्या अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार लक्ष्मण बिडारी ‘शेष’को अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो। समितिमा सूचना तथा सञ्चार मन्त्रालयका प्रतिनिधि, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार सविता कार्की, पुरातत्व तथा सम्पदा शाखाका प्रमुख सुभद्रा भट्टराई र अन्य अधिकारी सदस्य रहेका छन्।
समितिको सदस्यसचिवका रूपमा मन्त्रालयका संस्कृति शाखाका उपसचिव निर्मला न्यौपाने रहेका छन्।
समितिलाई १० दिनभित्र प्रतिवेदनसहित सिफारिस पेश गर्न कार्यादेश दिइएको छ। गीत–सङ्गीत क्षेत्रको रोयल्टी सङ्कलन, वितरण प्रणाली, डिजिटल प्रयोग तथा बौद्धिक सम्पत्ति अधिकार हननका विषयमा अध्ययन गरी सुधारका सुझाव दिने जिम्मेवारी समितिलाई दिइएको छ।