मेटाद्वारा विश्वभर १० प्रतिशत कर्मचारी कटौती, करिब ८ हजार प्रभावित
मेटाले आफ्नो विश्वव्यापी श्रमशक्तिको १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ, यसअन्तर्गत करिब ८ हजार कर्मचारी प्रभावित हुनेछन् ।
बुधबारदेखि सुरु भएको यो कर्मचारी कटौती तीन चरणमा गरिनेछ । कटौती हुने कर्मचारीहरूलाई स्थानीय समयअनुसार बिहान ४ बजेदेखि जानकारी दिन थालिएको छ ।
कटौतीबाट हालसम्म प्रभावित हुने कर्मचारीहरूमा विशेषतः कम्पनीको ‘इन्टेग्रिटी टिम’का रहेका छन् । यी कर्मचारीले हानिकारक सामग्री र घृणाजनक अभिव्यक्ति हटाउने काम गर्छन् । साथै जागिर जानेहरूमा साइबर सुरक्षा टोली र कन्टेन्ट निर्माण तथा डिजाइन विभागका सदस्यहरू पनि छन् ।
मेटाका प्रतिनिधिहरूका अनुसार, अमेरिकामा प्रभावित कर्मचारीहरूले १६ हप्ताको सेभरेन्स पे (बिदाइ सुविधा) पाउनेछन् । साथै, कम्पनीमा काम गरेको प्रत्येक वर्षका लागि थप दुई हप्ताको अतिरिक्त भुक्तानी पनि दिइनेछ ।
व्हाट्सएप, फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले थप ६ हजार कर्मचारी भर्ना गर्ने योजना रद्द गरेको छ भने अन्य ७ हजार कर्मचारीलाई अन्य विभागमा स्थानान्तरण गर्ने जनाएको छ ।
कम्पनीभित्र कर्मचारीहरूको मनोबल खस्किँदै गएको समाचारबिच यस्तो कदम चालिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार मेटाले आफ्नै एआई मोडल प्रशिक्षणका लागि कर्मचारीहरूको गतिविधि ट्र्याक गर्ने कार्यक्रम सुरु गरेपछि विवाद उत्पन्न भएको थियो ।
पत्रिकाका अनुसार १,५०० भन्दा बढी कर्मचारीहरूले कम्पनीले उनीहरूको डाटा सङ्कलन नगर्न माग गर्दै निवेदनमा हस्ताक्षर गरेका छन् । नाम नखुलाएका एक कर्मचारीका अनुसार, “आफ्नै ठाउँ लिन आउने एआई मोडललाई तालिम दिन प्रयोग भइरहेका छन्” भन्ने अनुभूतिका कारण कर्मचारीको मनोबल घटेको छ ।
कर्मचारीहरूमा अर्को चिन्ताको विषय भनेको वार्षिक तलब वृद्धिमा कटौती र औसत कुल पारिश्रमिकमा झन्डै ३० हजार डलरले गिरावट आउनु हो ।
ब्लूमबर्ग बिलिनेयर्स इन्डेक्सअनुसार विश्वका छैटौँ धनी व्यक्ति मार्क जुकरबर्ग व्यवसायमा लगानी गर्न हिचकिचाउँदैनन् । तर पछिल्लो समय उनको ध्यान विशेषगरी एआई विकासतर्फ केन्द्रित छ । उनी “मेटा सुपरइन्टलिजेन्स”को विकासमा अग्रसर छन् ।
कम्पनीको पूँजीगत खर्च यस वर्ष १२५ अर्बदेखि १४५ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ, जुन २०२५ को तुलनामा दोब्बरभन्दा बढी वृद्धि हो ।
त्यसो त गोल्डम्यान साक्सको हालैको सर्वेक्षणअनुसार एआई का कारण विस्थापित रोजगारीका कारण यस वर्ष प्रत्येक महिना १६ हजारभन्दा बढी कर्मचारीको जागिर गुमिरहेको छ । यसैबिच, प्रविधि कम्पनी सिस्कोले पनि करिब ४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।