इरानको अडान: ‘न्यायोचित भए मात्र अमेरिका–इरान सम्झौता’
इरानले न्यायोचित नहुने कुनै पनि अवस्थामा अमेरिकासँग सम्झौता नगर्ने अडान लिएको छ।
चीनको राजधानी बेइजिङमा भएको वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले सबै पक्षका लागि उपयुक्त हुने अवस्थामा मात्र सम्झौता सम्भव हुने बताएका छन्। उनले इरानले आफ्नो अधिकार र हितको पूर्ण रक्षा गर्ने स्पष्ट गर्दै “कुनै पनि दबाबमा सम्झौता स्वीकार हुँदैन” भनेका छन्।
यसैबीच चीनले इरान–अमेरिका तनावप्रति चिन्ता व्यक्त गर्दै तत्काल द्वन्द्व रोक्न आग्रह गरेको छ। चीनले दुवै पक्षलाई अन्तर्राष्ट्रिय समुदायको अपिललाई ध्यान दिन र होर्मुज जलडमरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरेको छ।
ऊर्जा र व्यापारका लागि महत्वपूर्ण मानिने यो क्षेत्रको तनावले विश्व आपूर्ति प्रणालीमा समेत असर पारिरहेको छ। चीनले आफू इरानको रणनीतिक साझेदार रहेको पनि दोहोर्याएको छ।