खामेनेईको स्वास्थ्यबारे विवाद, इरानको दाबी: ‘उनी पूर्ण सक्रिय छन्’
तेहरान — मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिएका आशङ्का र अड्कलबाजीबीच उनको कार्यालयले उनी पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेको छ।
उनको कार्यालयसँग सम्बद्ध तथा विशेषज्ञ सभाका सदस्य उप अयातुल्ला मोहसेन कोमीले खामेनेईको स्वास्थ्यबारे उठाइएका प्रश्नहरूलाई बाह्य रणनीतिक प्रयासको हिस्सा भएको टिप्पणी गरेका छन्। उनका अनुसार नेताको सार्वजनिक उपस्थिति कम देखिनु वा सीमित गतिविधि देखिनुजस्ता विषयलाई आधार बनाएर “मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास” भइरहेको छ।
कोमीले भने, “केहीले नेताको स्वास्थ्यबारे जिज्ञासा राखिरहेका छन्, तर यस्तो प्रश्न उठाउनु नै शत्रुको योजना हो। उहाँ किन देखिनुहुन्न भन्ने विषय उठाएर भ्रम फैलाउने प्रयास भइरहेको छ।”
उनले हाल इरानी नेतृत्वको प्राथमिकता सर्वोच्च नेताको सुरक्षा रहेको बताउँदै केही चोटपटक लागे पनि खामेनेई अहिले सुरक्षित र सक्रिय रहेको दाबी गरे।
“उहाँ घाइते हुनुभएको थियो, तर अहिले पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ र जिम्मेवारी सम्हालिरहनुभएको छ,” कोमीले भने। उनका अनुसार विस्फोटको जोखिम रहेको भवनबाट केही मिनेटअघि मात्र स्थान परिवर्तन गरेकाले ठूलो क्षति टरेको थियो।
इसीबीच, केही अन्तर्राष्ट्रिय रिपोर्टहरूले फेब्रुअरी २८ मा भएको हवाई आक्रमणपछि खामेनेई सार्वजनिक रूपमा कम देखिएको र उनको सम्पर्क सीमित व्यक्तिहरूसँग मात्र रहेको दाबी गरेका छन्। तर इरानी अधिकारीहरूले यस्ता सबै दाबीलाई अस्वीकार गर्दै आएका छन्।
हाल मोजताबा खामेनेईले वार्ता, क्षेत्रीय गतिविधि र रणनीतिक निर्णयहरू प्रत्यक्ष रूपमा निगरानी गरिरहेको इरानी पक्षको भनाइ छ।