पश्चिमी अस्ट्रेलियामा शार्क आक्रमण : एक जनाको मृत्यु
पर्थ । पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको अनुसार पर्थ सहर नजिक रहेको रोटनेस्ट टापु आसपासको समुद्री क्षेत्रमा बिहान करिब १० बजे उक्त आक्रमण भएको हो ।
अष्ट्रेलियाली प्रहरीले पीडितको उद्धार सम्भव नभएको जनाएको छ । घटनापछि स्थानीय प्रशासनले पर्यटकीय समुद्री क्षेत्रमा जाने मानिसलाई पानीमा प्रवेश गर्दा ‘अतिरिक्त सावधानी’ अपनाउन आग्रह गरेको छ ।
तथ्यांकअनुसार सन् १७९१ यता अस्ट्रेलियामा करिब एक हजार ३०० वटा शार्क आक्रमणका घटना रेकर्ड भएका छन् । तीमध्ये २६० भन्दा बढी व्यक्तिको मृत्यु भएको उल्लेख गरिएको छ ।
यसअघि गत जनवरीमा सिड्नी हार्बर क्षेत्रमा भएको शार्क आक्रमणमा पनि एक जनाको ज्यान गएको थियो । पछिल्लो घटनासँगै दुई दिनको अवधिमा चार वटा शार्क आक्रमणका घटना सार्वजनिक भएका छन् । त्यसपछि समुद्री तटीय क्षेत्रका दर्जनौँ पर्यटकीय स्थलमा उच्च सतर्कता अपनाइएको छ भने केही समुद्री क्षेत्र अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।
हालैका वर्षहरूमा अस्ट्रेलियामा शार्कसँग सम्बन्धित घटनामा मृत्यु हुने क्रम बढ्दै गएको छ । वैज्ञानिकहरूका अनुसार समुद्री तापक्रम वृद्धि, भीडभाडयुक्त तटीय क्षेत्र तथा समुद्री वातावरणमा आएको परिवर्तनका कारण शार्कको व्यवहार प्रभावित भइरहेको छ । यसले भविष्यमा यस्ता आक्रमणका घटना थप बढ्न सक्ने संकेत देखिएको विज्ञहरूले बताएका छन् ।