तिम्रा ढंगले कांग्रेस उँभो लाग्दैन : वीरबहादुर बलायर
धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पार्टीको वर्तमान नेतृत्व प्रभावकारी ढंगले अघि बढ्न नसकेको बताएका छन्।
कैलालीको धनगढीमा सुरु भएको ‘एकता र पुनर्जागरण’ भेलालाई सम्बोधन गर्दै बलायरले देउवा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सर्वोच्च अदालतको फैसलापछि नेतृत्व स्वीकार गरे पनि वर्तमान शैलीबाट कांग्रेस सुदृढ हुन नसक्ने टिप्पणी गरे।
“देउवा नेतृत्वको दुईतिहाइ आज बाहिर छ,” उनले भने, “तर, हाम्रो विमति नियमित महाधिवेशनसम्मको हो।”
प्रदेश समितिद्वारा आयोजित भेलालाई गुटको भेला भनिएकोप्रति आपत्ति जनाउँदै बलायरले यो केवल सुरुवात मात्र भएको बताए। उनले आफूहरू संघर्ष र मेहनतबाट स्थापित भएको उल्लेख गर्दै “कांग्रेस लास र दासको पार्टी होइन” भन्ने गगनकुमार थापाको अभिव्यक्तिलाई पनि स्मरण गरे।