कङ्गोमा नयाँ इबोला प्रकोप : मृत्यु हुनेको संख्या ८० पुग्यो
किन्शासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा फैलिएको नयाँ इबोला प्रकोपका कारण मृत्यु हुनेहरूको संख्या ८० पुगेको छ । कङ्गो स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमण नियन्त्रणका लागि आपतकालीन कदमहरू अघि बढाइएको जनाएको छ ।
कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाका अनुसार विशेष प्रयोगशाला परीक्षणमार्फत गत हप्ताको अन्त्यतिर इबोला भाइरसका आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि भएका हुन् । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा २४६ वटा शंकास्पद केसहरूको निगरानी भइरहेको बताएका छन् । संक्रमण थप फैलिन नदिन सरकारले आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ ।
सरकारले विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्ने तथा प्रभावित क्षेत्रमा द्रुत प्रतिक्रिया टोली परिचालन गर्ने कार्यलाई तीव्र बनाएको जनाएको छ ।
यसैबीच, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसि) ले उत्तरपूर्वी इटुरी प्रान्तमा देखिएको प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेपछि थप सतर्कता अपनाइएको हो ।
स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन, स्वास्थ्य मापदण्ड पालना गर्न तथा शंकास्पद लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।