उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, ७ बुँदे सहमति
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच राजनीतिक एकता भएको छ। बिहीबार त्रिपुरेश्वर स्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरिएको हो।
सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दर्विराम परियारले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार दुवै दलले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने सहमति पनि भएको छ।
त्यस्तै, दलित समुदायमाथि हुने जातीय विभेद, छुवाछूत, अपमान र बहिष्करण अन्त्यका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने र राज्यका निकाय तथा पार्टी संरचनामा जनसंख्याको अनुपातअनुसार प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि सहमति पत्रमा समावेश गरिएको छ।