गाजामा हमासका सैन्य प्रमुख मुहम्मद ओदेह मारिएको इजरायलको दाबी
काठमाडौं, १३ जेठ — इजरायली रक्षा बल (IDF) ले गाजामा हमासको सैन्य नेतृत्वका नयाँ प्रमुख तथा अक्टोबर ७ को आक्रमणका प्रमुख योजनाकार मुहम्मद ओदेह इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा गरिएको अपरेसनमा ओदेहको मृत्यु भएको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनाएको हो।
इजरायली दाबीअनुसार ओदेहले अक्टोबर ७ को आक्रमणका क्रममा हमासको गुप्तचर प्रमुखको रूपमा काम गरेका थिए र हालै मात्र उनलाई सैन्य प्रमुखमा नियुक्त गरिएको थियो।
उनी धेरै इजरायली नागरिक तथा आईडीएफ सैनिकको हत्या, अपहरण र घाइते घटनामा संलग्न रहेको आरोप पनि इजरायलले लगाएको छ।
यसैबीच, नेतान्याहुले सामाजिक सञ्जालमार्फत अक्टोबर ७ को आक्रमणमा संलग्न सबैलाई समाप्त गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
उता, गाजासँगै क्षेत्रीय तनाव पनि बढ्दै गएको छ। रिपोर्टअनुसार इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण तीव्र पारेको छ।
अल जजिराका अनुसार बुर्ज राहल र टायर जिल्लामा हवाई आक्रमण भएका छन् भने अन्य क्षेत्रहरूमा पनि सैन्य कारबाही जारी छ।
दक्षिणी लेबनानमा मंगलबार भएको आक्रमणमा ३१ जनाको मृत्यु र ४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायली सेनाले भने हिजबुल्लाहविरुद्धको कारबाही अझ कडा बनाउने संकेत दिएको छ, जसले क्षेत्रीय तनाव थप बढ्ने आशंका गरिएको छ।