संघीयता र संविधानमाथिको आक्रमण निस्तेज गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ
हिक्मत कुमार कार्की ले संविधान र संघीयतामाथि विभिन्न कोणबाट भइरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बताएका छन्।
१९औँ गणतन्त्र दिवसका अवसरमा वीरेन्द्र सभागृह मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्रका उपलब्धि जनतासम्म पुर्याउन भएको ढिलाइका कारण असन्तुष्टि बढिरहेकोप्रति सजग हुन आग्रह गरे।
उनले लोकप्रियतावादका नाममा भइरहेका गतिविधिले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धि मात्र नभई मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतासमेत संकटमा पर्न सक्ने चेतावनी दिए।
कार्यक्रमअघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिबाट झाँकीसहित निकालिएको र्यालीले विराटनगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो।
गणतन्त्र दिवस समारोह समितिले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।