लेबनान–इजरायल युद्धविराम ४५ दिन थप, संयुक्त राष्ट्रसंघद्वारा स्वागत
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ले लेबनान र इजरायल बीच जारी युद्धविरामको अवधि ४५ दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गरेका छन्। उनले उक्त कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकहरूको पीडा कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघ को प्रेस कार्यालयद्वारा जारी वक्तव्यअनुसार महासचिव गुटेरेसले द्वन्द्व अन्त्यका लागि भइरहेका सम्पूर्ण प्रयासप्रति समर्थन जनाउँदै लेबनान–इजरायल सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा र मानवीय सहायतामा विशेष ध्यान दिन आग्रह गरेका छन्। उक्त सीमारेखा संयुक्त राष्ट्रसंघले सन् २००० मा निर्धारण गरेको थियो।
महासचिव गुटेरेसले सम्बन्धित सबै पक्षलाई युद्धविरामको पूर्ण सम्मान गर्न, थप आक्रमण नगर्न तथा अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तहरूको पालना गर्न आग्रह गरेका छन्। साथै, क्षेत्रीय शान्ति, स्थायित्व र आपसी समझदारी कायम राख्न संयमता तथा संवाद आवश्यक रहेकोमा उनले जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ पूर्ण रूपमा कार्यान्वयन गर्न भइरहेका कूटनीतिक प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ। उक्त प्रस्ताव सन् २००६ मा लेबनानी समूह हिज्बुल्लाह र इजरायलबीच भएको युद्ध अन्त्य गर्न ल्याइएको थियो।
युद्धविराम अवधि थप गरिएसँगै सीमावर्ती क्षेत्रमा केही राहत र स्थिरता आउने अपेक्षा गरिएको भए पनि अवस्था अझै संवेदनशील रहेकाले निरन्तर संवाद, सहकार्य र शान्तिपूर्ण पहल आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ।