किशोरीलाई बलात्कार गरेको आरोपमा श्रीलङ्कामा भिक्षु पक्राउ
श्रीलङ्काका उच्च पदस्थ बौद्ध भिक्षु पल्लेगामा हेमरथना थेरोलाई पक्राउ गरिएको छ । १५ वर्षीया किशोरीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेर थेरोलाई रिमाण्डमा पठाइएको छ । उनी श्रीलङ्काका आठ पवित्र बौद्ध स्थलका प्रमुख संरक्षक मानिन्छन् ।
श्रीलङ्काको बाल संरक्षण प्राधिकरणले उनलाई यस घटनामा मुख्य शङ्कास्पद व्यक्तिका रूपमा उल्लेख गर्दै तत्काल पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भएलगत्तै उनी पक्राउ परेका हुन् ।
हालसम्म थेरोले आरोपबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । उनी आगामी १२ मे मा अदालतमा उपस्थित हुनेछन् । पीडित किशोरीकी आमालाई ‘दुर्व्यवहार’ मा सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउको समयमा भिक्षु कोलम्बोस्थित एक निजी अस्पतालमा उपचाररत थिए ।
अदालतले उनलाई कोलम्बो कारागार अस्पतालमा सार्न आदेश दिएको छ । यसैबिच, अदालतले थेरोलाई देश छोडेर भाग्न नदिन अध्यागमन विभागलाई निर्देशन दिएको छ । श्रीलङ्कामा बौद्ध भिक्षुहरू समाजमा अत्यन्त सम्मानित र राजनीतिक रूपमा प्रभावशाली मानिने भएकाले यति उच्च तहका भिक्षुको पक्राउलाई असाधारण घटनाका रूपमा हेरिएको छ