शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार सिफारिस समिति गठन
बैतडी/काठमाडौं — शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय को उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मिता पोखरेल को अध्यक्षतामा बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थी को संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन्। विश्वविद्यालयका अनुसार प्राडा अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्।
विश्वविद्यालय ऐन २०८२ बमोजिम गठन गरिएको समितिले अब उपकुलपति र रजिस्ट्रारका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ।
यसै बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना नयाँ विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ। विज्ञान, प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र र समाजशास्त्र क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई समेट्दै दुई जना महिलासहित प्रतिनिधित्व गराइएको विश्वविद्यालयले जनाएको छ।
बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन समेत गरेको छ।