फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्ट्स र डीगो एपमार्फत प्रसारण हुने
काठमाडौं — फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्ट्स टेलिभिजन र डीगो एपमार्फत प्रसारण हुने भएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालमा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो।
नेपालका लागि प्रसारण अधिकार प्राप्त एसप्रो मिडिया ले टेलिभिजनतर्फ हिमालय स्पोर्ट्स र मोबाइल एपतर्फ डीगो एप सँग एक्सक्लुसिभ सम्झौता गरेको हो।
कार्यक्रममा एसप्रो मिडियाका अध्यक्ष सोम धितालले अब नेपाली दर्शकले विश्वकप आफ्नै टेलिभिजन र मोबाइल प्लेटफर्ममार्फत हेर्न पाउने वातावरण बनेको बताएका छन्। त्यस्तै हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले सब्सक्रिप्सन मोडलमार्फत विश्वस्तरीय खेल सामग्री प्रसारणको नयाँ अध्याय सुरु भएको उल्लेख गरेका छन्।
दर्शकले टेलिभिजनमा हिमालय स्पोर्ट्स च्यानल सब्सक्राइब गर्नुपर्नेछ, जसका लागि प्रति सेटअप बक्स करसहित ९९९ रुपैयाँ शुल्क लाग्नेछ। मोबाइलतर्फ डीगो एपमार्फत हेर्न चाहनेका लागि ५४९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ भने सीमित अवधिका लागि ७९९ रुपैयाँको अर्ली बर्ड अफर पनि उपलब्ध छ।
यी प्लेटफर्ममार्फत दर्शकले विश्वकपका कुल १०४ खेल प्रत्यक्ष हेर्न पाउनेछन्।