लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै
लुम्बिनी प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गनेछन् । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिनेछन् ।
यसैगरी, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू पनि प्रदेश सभामा पेस गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।