भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित
काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार आगामी सोमबारदेखि हुने तय भएको दुई दिने भ्रमण अन्तिम समयमा रोकिएको हो।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि भारतले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो। भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिने तयारीसमेत रहेको बताइएको थियो।
तर प्रधानमन्त्री शाहसँग भेटको समय तय हुन नसकेपछि भ्रमण स्थगित भएको स्रोतको दाबी छ। यद्यपि, भारतको तर्फबाट भने मिश्रीको अन्य कार्यतालिकाका कारण भ्रमण सारिएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइएको जनाइएको छ।
दिल्ली र काठमाडौंस्थित भारतीय दूतावासले भ्रमण स्थगनबारे औपचारिक कारण सार्वजनिक गरेका छैनन्।
मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृत राईको निमन्त्रणामा नेपाल आउन लागेका थिए। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको थियो।
उनले प्रधानमन्त्री वालेन्द्र शाह, परराष्ट्रमन्त्री शिशिर खनाल तथा अन्य उच्च नेतासँग भेट गर्ने तयारी रहेको स्रोतले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट हुने सम्भावना रहेको बताइएको थियो।
मिश्री २०८२ असार १४ गते भारतीय विदेश मन्त्रालयको विदेश सचिव नियुक्त भएका हुन्।