बाजुरा–हुम्ला सीमा अध्ययन गर्न प्राविधिक समिति गठन
काठमाडौँ — सरकारले बाजुरा र हुम्ला जिल्लाबीचको सीमा विवादको प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पनि एक–एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।
नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, उपसचिव भीम बुढा, निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकाललगायतको उपस्थिति थियो।
समितिले दुबै जिल्लाको सीमासम्बन्धी प्राविधिक अध्ययन गरी विस्तृत प्रतिवेदन सरकारलाई बुझाउनेछ।