मस्को आसपास ठूलो ड्रोन आक्रमण : कम्तीमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
मस्को — रुसको राजधानी मस्को आसपास आइतबार बिहान भएको ठूलो ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभ ले घटनामा एक महिलासहित तीन जनाको ज्यान गएको पुष्टि गरेका हुन्।
गभर्नर भोरोब्योभका अनुसार एउटा आवासीय भवनमा मानवरहित हवाई यान (ड्रोन) ठोक्किँदा एक महिलाको मृत्यु भएको हो। साथै भग्नावशेषमुनि एक व्यक्ति फसेको जानकारी दिँदै उनले दुई पुरुषको पनि मृत्यु भएको बताए। उनले बिहान करिब तीन बजेदेखि नै रुसको वायु प्रतिरक्षा प्रणालीले ठूलो मात्राको ड्रोन आक्रमण रोक्न प्रयास गरिरहेको उल्लेख गरे।
आक्रमणमा कम्तीमा चार जना घाइते भएका छन् भने विभिन्न पूर्वाधार संरचनामा समेत क्षति पुगेको जनाइएको छ।
यता सर्गेई सोब्यानिन ले रातभरिमा राजधानी मस्को क्षेत्रमा कम्तीमा ७४ वटा ड्रोन खसालिएको वा निष्क्रिय पारिएको बताएका छन्। उनका अनुसार ड्रोनका भग्नावशेष खस्दा १२ जना घाइते भएका छन् भने केही स्थानमा सामान्य क्षति पुगेको छ।
रुसी अधिकारीहरूले पछिल्लो २४ घण्टामा कुल १२० वटा ड्रोन नष्ट गरिएको दाबी गरेका छन्। आक्रमणको जिम्मेवारीबारे आधिकारिक पुष्टि नभए पनि युक्रेन ले पछिल्लो समय रुसभित्र विभिन्न क्षेत्रमा आक्रमण तीव्र बनाउँदै आएको छ। युक्रेनले यस्ता कारबाहीलाई ‘प्रतिशोधात्मक आक्रमण’ भन्दै आएको छ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले हालै रुसविरुद्ध थप प्रतिकारात्मक आक्रमण गर्ने चेतावनी दिएका थिए।