बहाल–बहिल संस्कृतिको पुनरुत्थान गर्ने महानगरको प्रतिबद्धता
काठमाडौँ — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित बहाल–बहिल संस्कृतिको पुनरुत्थान गरिने बताएकी छन्।
नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आयोजना गरेको ‘बहाल–बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा उनले काठमाडौँका बहाल–बहिलहरूको ऐतिहासिक, धार्मिक र सामाजिक महत्व रहेको उल्लेख गर्दै ती परम्पराहरू संरक्षण र पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याइन्।
डङ्गोलले काठमाडौँमा रहेका १६ बहिलमध्ये धेरैको मौलिक संस्कृति र परम्परा अभिलेख नष्ट हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्न तत्काल अभिलेख तयार गरी पुस्तान्तरणको योजना अघि बढाउनुपर्ने बताइन्।
उनका अनुसार पुनरुत्थानका क्रममा सम्पदाको सौन्दर्य, ऐतिहासिक तथा धार्मिक पक्षलाई समेत ध्यान दिनु आवश्यक छ।
ट्रष्टकी अध्यक्ष सन्ध्या बज्राचार्यले बहाल–बहिल संस्कृतिको अध्ययन, अनुसन्धान र अभिलेखीकरण आजको प्रमुख आवश्यकता भएको बताइन्। उनले बौद्ध विहारहरूको ऐतिहासिक पक्ष उजागर गर्दै नयाँ तथ्यहरू सार्वजनिक गर्ने लक्ष्य रहेको जानकारी दिइन्।
कार्यक्रममा विज्ञहरूले लोपोन्मुख बही संस्कृति, परम्परागत रीतिरिवाज, मूर्त–अमूर्त सम्पदा संरक्षण तथा बौद्ध कला–संस्कृतिको दस्तावेजीकरणमा जोड दिएका थिए।
विशेषगरी गुँला महिनामा गरिने ‘बही द्योः ब्वयेगु’ परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विषयमा पनि छलफल भएको थियो।