नेपाली सेनाद्वारा महाकाली नदीमा ‘अभ्यास मनसुन–६’ विपद् उद्धार अभ्यास सम्पन्न
कञ्चनपुर, भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ सञ्चालन गरिएको छ।
नेपाली सेनाको बराहदल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको उक्त नमूना अभ्यासमा बाढी तथा प्राकृतिक विपद्का बेला गरिने उद्धार र क्षति न्यूनीकरणका उपायहरू स्थानीयलाई देखाइएको हो।
गुल्मपति सेनानी अशोक शाहीका अनुसार, विपद् व्यवस्थापनका लागि आवश्यक तयारी, उद्धार प्रक्रिया र प्राविधिक उपकरणहरूको प्रयोगबारे जनचेतना फैलाउने उद्देश्यले अभ्यास गरिएको हो।
उनले महाकाली नदी क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले विपद् व्यवस्थापनमा सबै निकाय तयारी अवस्थामा रहेको जानकारी दिए।
उद्धार अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सहभागिता जनाएका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले वर्षायाममा महाकाली नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरे। उनले बाढीको समयमा जोखिमपूर्ण गतिविधि नगर्न पनि सचेत गराए।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाली राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगायतका गैरसरकारी संस्थाको समेत सहकार्यमा अभ्यास सम्पन्न भएको हो।