गाजामा २१ लाख मानिस सीमित क्षेत्रमा बस्न बाध्य, भोकमरी संकट गहिरिँदै
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय निकायले गाजा क्षेत्रमा मानवीय संकट झन् गम्भीर बन्दै गएको जनाएको छ। निकायका अनुसार गाजाका करिब २१ लाख मानिस अहिले पनि क्षेत्रको आधाभन्दा कम भूभागमा सीमित भएर बस्न बाध्य छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार खेतीयोग्य जमिन तथा अत्यावश्यक पूर्वाधार रहेका गाजाका धेरै क्षेत्रमा सर्वसाधारणको पहुँच छैन। साथै, मानिसहरू विदेश जान वा विशेष स्वास्थ्य सेवा उपलब्ध हुने पश्चिमी किनारा क्षेत्रमा पुग्नसमेत असमर्थ रहेका छन्।
कठिन परिस्थितिका बीच मानवीय सहायता वितरण भने जारी रहेको छ। गत साता राहत निकायहरूले हजारौँ ओछ्यान सामग्री, अस्थायी आवास सामग्री तथा सयौँ पाल चार हजारभन्दा बढी परिवारलाई वितरण गरेका छन्।
खाद्य सुरक्षासम्बन्धी साझेदार संस्थाहरूले दैनिक ११ लाखभन्दा बढी खाना १२० भन्दा बढी सामुदायिक भान्सामार्फत वितरण गरिरहेका छन्। तर पनि गाजामा भोकमरीको समस्या गम्भीर रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
खाद्य सहायता निकायका अनुसार अधिकांश परिवार अझै राहत सामग्रीमै निर्भर छन्, किनकि ताजा खाद्यान्नको मूल्य अत्यधिक बढेको छ। प्रत्येक पाँचमध्ये एक परिवारले दिनमा केवल एकपटक मात्रै खाना खाने गरेको उल्लेख गरिएको छ।
खाना पकाउने ग्यास अभावका कारण करिब ७० प्रतिशत परिवार फोहोर वा असुरक्षित सामग्री बालेर खाना पकाउन बाध्य भएको बताइएको छ।
यता, पश्चिमी किनारा क्षेत्रमा पनि हिंसा र धम्कीका कारण विस्थापन बढिरहेको छ। पछिल्लो एक सातामै ३० भन्दा बढी व्यक्ति विस्थापित भएका छन् भने सन् २०२३ यता हिंसाका कारण पाँच हजार नौ सयभन्दा बढी प्यालेस्टिनी विस्थापित भइसकेका छन्।