दिल्लीको एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु
भारतको राजधानी नयाँ दिल्लीस्थित विवेक विहारमा आइतबार बिहान एक चारतले आवासीय भवनमा भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
पूर्वी दिल्लीको मुख्य स्थान मानिने यस क्षेत्रमा बिहान करिब ४ बजे भवनको दोस्रो तलाबाट सुरु भएको आगो द्रुत गतिमा तेस्रो र चौथो तलामा फैलिएको थियो।
आगलागीको खबर पाउने बित्तिकै १४ वटा दमकल घटनास्थलमा पुगेर करिब दुई घण्टाको प्रयासपछि बिहान ६ बजेतिर आगो नियन्त्रणमा लिएका थिए। सुरक्षाकर्मी र उद्धार टोलीले भवनबाट एक दर्जनभन्दा बढी मानिसलाई जीवितै उद्धार गरे पनि ९ जनालाई भने बचाउन सकेनन्।
आगलागीमा परी घाइते भएका दुई जनालाई उपचारका लागि गुरु तेगबहादुर अस्पताल भर्ना गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार भवनको बाल्कोनीबाट धेरैलाई उद्धार गरिएको भए पनि पछिल्लो भागमा रहेका केही परिवार अझै भवनभित्रै फसेको हुनसक्ने आशङ्का गरिएको छ।
शाहदराका डीसीपी राजेन्द्र प्रसाद मीनाले घटनास्थलबाट सबै शव निकालेर दिल्ली प्रहरीको क्राइम टिमलाई जिम्मा लगाइएको जानकारी दिएका छन्। आगो निभाइसकेपछि अहिले पनि भवनभित्र खोजी र उद्धार कार्य जारी राखिएको छ।
आगलागीको आधिकारिक कारण अझै खुल्न नसके पनि स्थानीय बासिन्दाले एयर कन्डिसनर (एसी) विस्फोट भएका कारण आगो सल्केको दाबी गरेका छन्। एक स्थानीयका अनुसार ठुलो आवाजसहित एसी पड्किएपछि भवनमा आगो लाग्न सुरु भएको थियो।
प्रहरीले भने घटनाको विस्तृत अनुसन्धान भइरहेको र प्राविधिक टोलीको प्रतिवेदनपछि मात्र आगलागीको वास्तविक कारण खुल्ने बताएको छ। बिहानको समयमा सबैजना सुतिरहेका बेला अचानक आगलागी भएकाले मानवीय क्षति बढी भएको अनुमान गरिएको छ।