न्यूयोर्क मेयर ममदानीको युद्धविराम आह्वान, इरान युद्धको विरोध
जोहरान ममदानी ले इरानसँग चलिरहेको युद्ध तत्काल समाप्त गर्नुपर्ने माग गर्दै कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले यो युद्ध “कसैले मतदान नगरेको तर आम नागरिकले मूल्य चुकाइरहेको” बताएका छन्।
ममदानीका अनुसार युद्धका कारण हजारौं नागरिकको ज्यान गएको छ र १३ अमेरिकी सैनिक पनि मारिएका छन्। उनले ती सैनिक अब परिवारमा फर्कन नसक्ने भन्दै दुःख व्यक्त गरेका छन्।
उनले युद्धको प्रभाव केवल युद्धक्षेत्रमा सीमित नभई अमेरिकाका आम नागरिकमा पनि परेको बताए। पेट्रोल र खाद्यान्नको मूल्य बढ्दा मध्यम तथा श्रमिक वर्गको बजेट प्रभावित भएको उनको भनाइ छ।
ममदानीले यो द्वन्द्व अमेरिकी संसद (कांग्रेस) को स्वीकृतिबिना सुरु गरिएको आरोप लगाउँदै विदेशमा हुने हरेक मानवीय क्षति र घरेलु आर्थिक बोझ एउटै “लापरवाह निर्णय” को परिणाम भएको टिप्पणी गरेका छन्।