दुईदिने बिदाबीच पनि स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को आग्रह
काठमाडौं — सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले आइतबारसमेत अस्पतालहरूमा सेवा निरन्तर राख्न आग्रह गरेको छ।
मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार दुईदिने बिदा लागू भएसँगै बिरामीलाई असहजता नहोस् भनेर मन्त्रालयले ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो। सो अनुरोधअनुसार अधिकांश अस्पतालहरूले आइतबार पनि सेवा सञ्चालन गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालहरूबाट आएका गुनासा र चासोप्रति आफू पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै ती विषयहरू समाधान गर्न सकारात्मक रहेको जनाएको छ।
‘स्वास्थ्य सेवा अत्यावश्यक र निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्छ,’ मन्त्रालयले जनाएको छ।
सेवा प्रवाहलाई थप व्यवस्थित, सन्तुलित र दिगो बनाउन आवश्यक कार्यविधि छिट्टै तयार पारिने र त्यसलाई कार्यान्वयनमा ल्याइने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
कार्यविधि तयार नहुँदासम्म उपलब्ध जनशक्ति र कार्यभारका आधारमा सेवा निरन्तर राख्न अस्पतालहरूलाई आग्रह गरिएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी ले स्वास्थ्यकर्मीको विश्राम अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तरता कायम राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।