थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली
काठमाडौं — थापाथली क्षेत्रमा बागमती नदी किनारामा बसोबास गर्दै आएका अव्यवस्थित बस्तीहरू खाली गराइएको छ। नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले उक्त बस्ती हटाएको जनाएको छ।
बस्ती खाली गर्ने क्रममा घरबारविहीन भएको बताएका ६ परिवारका सदस्यलाई अस्थायी व्यवस्थापनका लागि दशरथ रङ्गशालामा लगिएको छ। उनीहरूको आवास र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायले पहल गरिरहेको जानकारी दिइएको छ।
महानगर प्रहरी बल र नेपाल प्रहरीले बस्ती हटाउनुअघि स्वेच्छाले स्थानान्तरण हुन इच्छुक परिवारहरूलाई गन्तव्यसम्म पुग्न सहयोग गरेका थिए। उनीहरूलाई सवारी साधन उपलब्ध गराउनुका साथै अन्य व्यवस्थापकीय र मानवीय सहयोग पनि प्रदान गरिएको थियो।
प्रशासनका अनुसार नदी किनार क्षेत्रमा बढ्दो अतिक्रमण हटाई वातावरणीय सन्तुलन कायम गर्ने र सार्वजनिक क्षेत्र संरक्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। साथै, आगामी दिनमा पनि यस्ता अतिक्रमणविरुद्ध कारबाहीलाई निरन्तरता दिइने जनाइएको छ।