असार १५ देखि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार असार १५ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः सुरु गरिनेछ। यससँगै स्वास्थ्य बीमा गराएका सेवाग्राहीहरूले पुनः बीमा सुविधामार्फत ओपीडी सेवा लिन सक्नेछन्।
अस्पतालका अनुसार स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी टिकट बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म तथा दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म अस्पतालको स्वास्थ्य बीमा टिकट काउन्टरबाट वितरण गरिनेछ।
अस्पतालले तोकिएको समयभित्र उपस्थित भई स्वास्थ्य बीमा सेवाको लाभ लिन सेवाग्राहीलाई अनुरोध गरेको छ। स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालनसँगै उपचारका लागि शिक्षण अस्पताल पुग्ने बिरामीलाई थप सहजता हुने अपेक्षा गरिएको छ।