मेची राजमार्गका विभिन्न खण्डमा पहिरो र ढिस्को, आवागमन अवरुद्ध
इलाम — लगातारको वर्षासँगै आएको पहिरो र ढिस्कोका कारण मेची राजमार्गअन्तर्गत इलामका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ स्थित माईखोला क्षेत्रको गोलाखर्क (राजदुवाली) सडकखण्डमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।
गएरातिको वर्षासँगै माथिल्लो भागबाट लेदो र माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्। उनका अनुसार सो सडकखण्ड लामो समयदेखि जोखिमयुक्त मानिँदै आएको र वर्षायाममा बारम्बार यस्तै समस्या दोहोरिने गरेको छ।
“गएरातिदेखि लेदोसहितको पहिरो निरन्तर खसिरहेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ। साना सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न सकिने गरी आज बिहानदेखि पहिरो पन्छाउने प्रयास भइरहेको छ,” प्रजिअ ढकालले बताए। उनका अनुसार ठूला सवारीसाधन सञ्चालन गर्न भने अझै केही समय लाग्नेछ।
त्यसैगरी, मेची राजमार्गकै रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को खस्नुका साथै दुई वटा रूख ढलेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त खण्डमा पनि सडक खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताएका छन्।
सडक अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन्। विभिन्न जिल्लाबाट झापा जाने तथा झापाबाट पहाडी जिल्लातर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।
स्थानीय प्रशासनले लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको भन्दै यात्रुहरूलाई सावधानी अपनाउन र अत्यावश्यक नभए यात्रा नगर्न आग्रह गरेको छ।