प्रविधि र प्रमाणबाट अपराध अनुसन्धान गर्न प्रहरीलाई मुख्यमन्त्री शाहको सुझाव
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध अनुसन्धानलाई अनुमान र हचुवाका आधारमा नभई प्रविधि र प्रमाणका आधारमा अघि बढाउन नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले अनुसन्धान प्रणालीलाई वैज्ञानिक, व्यावसायिक र नतिजामुखी बनाउन स्पष्ट रणनीति आवश्यक रहेको बताए ।
उनले विगतमा अनुमानका आधारमा अनुसन्धान हुँदा निर्दोष फस्ने र दोषी उम्किने समस्या देखिएको उल्लेख गर्दै अब प्रहरी प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए ।
‘नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक तथा नतिजामुखी बनाउन स्पष्ट रणनीति तय गरी कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘अब प्रविधिमार्फत हुने अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।’
मुख्यमन्त्री शाहले सुदूरपश्चिमका केही पुराना घटनाको वास्तविकता अझै रहस्यमै रहेकाले त्यस्ता घटनाको पनि वैज्ञानिक ढङ्गले अनुसन्धान गर्नुपर्ने बताए। उनले नागरिकको जिउधन र राज्यको सुरक्षाका लागि सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्रबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
उनका अनुसार जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गरे मात्रै नागरिकको विश्वास जित्न सकिन्छ । साथै, अपराध अनुसन्धानमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री हिरा सार्कीले पर्याप्त प्रमाण र आधुनिक प्रविधिको अभावमा कहिलेकाहीँ निर्दोष फस्ने तथा दोषी उम्किने जोखिम बढ्ने गरेको बताए। उनले अनुसन्धानलाई थप विश्वसनीय बनाउन प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने धारणा राखे ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अनुसन्धानलाई निष्पक्ष र प्रमाणमुखी बनाउन वैज्ञानिक विधि अपनाउनुपर्ने बताए । उनले डिजिटल प्रणाली सुदृढ गर्दै समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न आवश्यक वातावरण सिर्जना गर्नुपर्ने बताए भने कैलाली जिल्ला अदालतका न्यायाधीश भुवन सिंह थापाले प्रत्येक प्रदेशमा विधि विज्ञान (फरेन्सिक) प्रयोगशाला स्थापना गर्न आवश्यक रहेको बताए । प्रविधिको अभावले न्याय सम्पादनमा ढिलाइ हुने गरेको उनको भनाइ थियो ।
गोष्ठीबारे जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले प्रविधिमार्फत अनुसन्धान, अपराध अनुसन्धानका चुनौती तथा अन्तर निकाय समन्वयका विषयमा छलफल हुने बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख सानुराम भट्टराईले प्रदेशमा प्रविधिमैत्री अनुसन्धान प्रणाली विकास गर्ने लक्ष्यका साथ दक्ष जनशक्ति, सुदृढ कानुन, फरेन्सिक प्रयोगशाला तथा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले अनुसन्धानका लागि आवश्यक प्रविधि खरिद गर्न सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
औपचारिक कार्यक्रमपछि प्रदेशका सबै जिल्लाको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय, प्रदेश प्रहरी कार्यालयलगायत निकायले पछिल्लो सुरक्षा अवस्था, खुला सीमाका कारण देखिएका अपराधका प्रवृत्ति, अनुसन्धानका चुनौती तथा आगामी वर्षको शान्ति सुरक्षा रणनीतिबारे प्रस्तुति दिएका थिए ।
गोष्ठीमा प्रदेशस्तरीय डीएनए परीक्षण प्रयोगशाला स्थापना, अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग विस्तार तथा प्रमाणमा आधारित न्याय प्रणाली सुदृढ गर्नुपर्ने निष्कर्षसमेत प्रस्तुत गरिएको थियो ।