हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालनको माग
आर्थिक सङ्कटका कारण प्रभावित हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ। उद्योग पटक–पटक बन्द–खुला हुँदै आएको र पुनः सञ्चालनका लागि सरकारस्तरमा पहल भइरहेको बताइएको छ।
सांसद प्रकाश गौतमले प्रधानमन्त्री, उद्योगमन्त्री र बागमती प्रदेश सरकारसँग छलफल गरी समाधानको प्रयास भइरहेको बताएका छन्। उद्योगमा कच्चा पदार्थको अभाव, बक्यौता भुक्तानी समस्या र राजनीतिक हस्तक्षेपका कारण सञ्चालन कठिन भएको उल्लेख गरिएको छ।
हाल उद्योगमा कार्यरत कर्मचारी, ज्यालादारी मजदुर र सुरक्षाकर्मी गरी ३ सयभन्दा बढी जनशक्ति प्रभावित भएका छन्। कच्चा पदार्थ अभावका कारण उद्योग पुनः बन्द हुने जोखिम रहेको जनाइएको छ।