बेनेट र ल्यापिडको एकता, नेतन्याहूविरुद्ध नयाँ राजनीतिक गठबन्धन घोषणा
तेल अभिभ — इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्रीहरू नफ्ताली बेनेट र यायर ल्यापिड ले राजनीतिक एकता गरेका छन्।
दुवै नेताले आफ्ना दलहरू एकीकृत गर्दै ‘टुगेदर’ नामको नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। पार्टीको नेतृत्व बेनेटले गर्नेछन् भने यसको मुख्य उद्देश्य वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहू लाई सत्ताबाट हटाउनु रहेको छ।
संयुक्त पत्रकार सम्मेलनमा बेनेटले यो कदमलाई ऐतिहासिक र राष्ट्रहितमा केन्द्रित निर्णय भएको बताएका छन्। ल्यापिडले पनि मध्यमार्गी मतदातालाई एकजुट हुन आह्वान गर्दै विपक्षी शक्तिहरू मिल्दा मात्र चुनाव जित्न सकिने बताएका छन्।
नयाँ गठबन्धनले केवल जायनिस्ट दलहरूसँग मात्र सहकार्य गर्ने र अरब दलहरूसँग सरकार नबनाउने स्पष्ट पारेको छ। नेताहरूले सुरक्षा, राष्ट्रिय एकता र राजनीतिक सुधारलाई प्रमुख एजेन्डा बनाउने घोषणा गरेका छन्।
यसअघि पनि बेनेट र ल्यापिडले २०१९ देखि २०२१ सम्म संयुक्त सरकार सञ्चालन गरेका थिए। हालको एकताले इजरायलको आगामी चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण गरिएको छ।