बालबालिका सुरक्षा कमजोर भन्दै ईयूले मेटामाथि कडा दबाब
ब्रसेल्स — युरोपेली सङ्घ (ईयू) ले सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न असफल भएको भन्दै मेटा माथि औपचारिक दबाब बढाएको छ।
युरोपेली आयोगको प्रारम्भिक मूल्याङ्कनअनुसार फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले १३ वर्षमुनिका बालबालिकालाई रोक्ने प्रभावकारी प्रणाली लागू गर्न नसकेको पाइएको छ। साथै, खाता बनाएपछि पनि नाबालिग प्रयोगकर्तालाई पहिचान गरी हटाउने प्रक्रिया कमजोर रहेको उल्लेख गरिएको छ।
आयोगका अनुसार यसले बालबालिकालाई उमेरअनुसार अनुपयुक्त सामग्री र अनलाइन जोखिममा पार्ने खतरा बढाएको छ।
यो कारबाही ईयूको डिजिटल सेवा ऐन (DSA) अन्तर्गत अघि बढाइएको हो। यदि उल्लङ्घन पुष्टि भएमा मेटालाई वार्षिक विश्वव्यापी आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्नेछ।
ईयूले मेटालाई आफ्नो प्रारम्भिक निष्कर्षमा प्रतिक्रिया दिने अवसर दिएको छ भने अन्तिम निर्णयपछि कारबाहीबारे टुंगो लाग्नेछ।